प्रदेश सरकार गठनको एक बर्ष पुगेको अवसरमा मुख्यमन्त्री भट्टद्वारा सरकारका उपलब्धी सार्वजनिक

प्रदेश सरकार गठनको एक बर्ष पुगेको अवसरमा मुख्यमन्त्री भट्टद्वारा सरकारका उपलब्धी सार्वजनिक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका लागि आवश्यक संरचना निर्माण नै आफ्नो नेतृत्वको सकारको एक बर्षको उपलब्धी भएको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकार गठनको एक बर्ष पुगेको अवसरमा आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारलाई आवशयक पूर्वाधारहरु बनाउनु नै एक बर्षको उपलब्धी भएके बताउनुभएको हो । उहाँले प्रदेश सरकार र प्रदेश सभा दुवै नौलो अभ्यास भएका कारण पहिलो बर्ष सिकाई र पूर्वाधार तयारीको बर्षको रुपमा रहेको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले अति आवश्यक कानून बनाउने कुरालाई प्राथमिकतामा राखेर काम गर्दै ऐन तर्जुमा गरिएको र केही कार्यविधिहरु बनाइएको बताउनुभयो । 

आवधिक बजेट बनाउने र अनुगमन गर्ने काम समेत भइरहेको बताउँदै भौतिक निर्माणका अधिकांश कार्यक्रमहरु सम्पादन हुने चरणमा रहेको मुख्यमन्त्री भट्टले बताउनुभएको छ ।

उहाँले भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि अनुदान कार्यक्रम शुरु भइसकेको र प्रत्येक स्थानीय तहमा सुपथ मुल्य पसल सञ्चालन गर्ने गरी काम भइरहेको समेत बताउनुभयो । महिलाहरुमाथि बिभिन्न नाममा भइरहेका हिंंसा न्युनिकरण गर्न प्रदेश सरकारले योजना बनाइरहेको बताउनुभयो ।  

प्रहरी अझैपनि संघीय सरकारको मातहत नै रहेपनि प्रदेशको शान्ति सुरक्षा कायय गर्ने कुरामा प्रदेश सरकारको पनि भूमिका रहने भएकोले सबै जिल्लामा प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउने गरी काम भएको समेत उहाँले बताउनुभयो ।

सरकारले कामका लागि भारत तर्फ जाने नागरिकहरुले सीमामा भोग्ने गरेका समस्या समाधानका लागि पहल गर्न सीमामा नागरिक सहायता कक्ष स्थापना गर्ने तर्फ काम भइरहेको र आगामी बैशाख महिनादेखि भारत तर्फ जाने नागरिकहरुको लगत संकलनको काम समेत हुने उहाँले बताउनुभयो । 

मुख्यमन्त्री भट्टले प्रदेश सरकार नौलो भएकोले कानून बनाउने र आवश्यक पूर्वाधार बनाउने काममै एक बर्ष बितेको बताइरहँदा प्रतिपक्षी दलहरुले भने सरकारले कामका नाममा केही पनि नगरेको आरोप लगाएका छन् ।