कैलालीको टीकापुर र जानकी गाउँपालिकामा पानी घटेपछि जनजीवन सहज बन्दै

कैलालीको टीकापुर र जानकी गाउँपालिकामा पानी घटेपछि जनजीवन सहज बन्दै

टीकापुर । कैलालीको दक्षिण पूर्वी भागमा रहेको भजनी र टीकापुर नगरपालिका तथा जानकी गाउँपालिकामा बाढीले डुबानमा परेका स्थानीय समस्यामा परेका छन् । कतिपयको घरमा पानी पसेर हिलो भएकोले बस्ने अवस्था नहुँदा सडकमा बसिरहेका र केही भने फर्केको भजनीका जनप्रतिनीधिले बताएका छन् ।

भजनी–३ का वडाध्यक्ष विक्रम चौधरीले शुक्रबारको तुलनामा नदीहरूमा पानी घटेकोले शनिबार केही सहज भएको बताए । उनले भने, ‘शनिबार पानी परेन । नदीमा पानी पनि केही कम भएको छ । पानी परेन भने जनजीवन सामान्य बन्दै जाने हो ।’ पानी घटेपछि क्षतिको अवलोकन र प्रभावितको तथ्यांक संकलनका लागि आफूहरू खटिएको उनले बताए ।

काढा, पथरैया र मोहना र कन्द्रा नदीको बाढीले शुक्रबार भजनी नगरपालिकाका करिब एक हजार घर डुबानमा परेका थिए । यसैगरी कर्णालीले कटान गरिरहेको टीकापुर नगरपालिकाको शाहीपुरमा जोखिम कम भएको छ । कटानको उच्च जोखिम क्षेत्रका बासिन्दाले जैविक तटबन्धका साथै रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी कटान नियन्त्रणका लागि ढुंगा खसाएपछि नदी गाउँ पस्ने जोखिम कम भएको हो ।

जोखिममा रहेका टीकापुरको दक्षिणी भागका करिब २ सय जनाले शनिबार कटान रोकथामका लागि तटबन्धमा खटिएको टीकापुर नगरपालिका–८ का जीतराम चौधरीले बताए ।