निसर्ग हस्पिटलमा ६ महिनामा ९० जना बिरामीको न्युरो सर्जरी

निसर्ग हस्पिटलमा ६ महिनामा ९० जना बिरामीको न्युरो सर्जरी

धनगढी । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले ६ महिनामा ९० जना बिरामीको न्युरो सर्जरी गरेको छ । गत फागुन १० बाट न्युरो सर्जरी (नशा रोग शल्यक्रिया) सेवा सुरु गरेको हो ।

सेवा सुरु गरेको छोटो समयमै ६५ जनाको जटिल शल्यक्रिया (मेजर अप्रेसन) सेवा प्रदान गरेको छ भने २५ जनाको सामान्य शल्यक्रिया गरेको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताए । न्यूरो सर्जन डाक्टर सुरेश सापकोटा हस्पिटसँग जोडिएसँगै नशा सम्बन्धी शल्यक्रिया सेवा सुरु भएको थियो ।

दुई वर्ष उमेर समूहकादेखि ७५ वर्ष उमेरका बिरामीसम्मको अप्रेशन गरिएको डाक्टर सापकोटाले बताए ।निसर्ग हस्पिटलले यो सेवा सुरु गर्नुपूर्व सुदूरपश्चिम प्रदेशमै यो स्तरको सेवा उपलब्ध थिएन । गण्डकी मेडिकल कलेज,पोखरामा कार्यरत रहेका चिकित्सक सापकोटा निसर्ग हस्पिटलमा आएसँगै सो सेवा सुरु भएको हो ।

सुदूरपश्चिमको कैलाली कञ्चनपुरबाहेक सात जिल्ला पहाडी भूभाग भएकाले घास, दाउरा, मेलापातदेखि सडक दुर्घटनाका कारण टाउको तथा नशामा चोटपटक लागेर धेरै मानिस समस्यामा पर्ने गरेका छन् । तर सुदूरपश्चिममा न्यूरो सर्जरी सेवा नहुँदा तीं बिरामीले नेपालगञ्ज र काठमाडौंलगाएत भारतका बिभिन्न शहरमा जानुपर्ने बाध्यता थियो।

गत फागुनदेखि निसर्ग हस्पिटलमा न्युरो सर्जन सापकोटा आएदेखि टाउको र नशामा समस्या भएका यस क्षेत्रका बिरामीले धनगढीमै उपचार पाउन थालेका हुन्। अस्पतालले यो सेवा सुरु गरेपछि न्युरो सम्बन्धि बिरामीले बाहिर जानुपर्ने अवस्था निकै कम भएको हस्पिटलले जनाएको छ।

हस्पिटलले नवजात शिशु तथा बालरोग, स्त्री तथा प्रसुती रोग, न्युरो मस्तिस्क, नशा तथा मेरुदण्ड रोग, छाला यौन कुष्ठरोग तथा सौन्दर्ग सेवा, हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी, जनरल मेडिसिन, मानसिक रोग, बालरोग, मुख अनुहार तथा बंगारा रोग, आईसीयू, एनआईसीयू, रेडियोलोजी, एनेस्थेसिया सेवा प्रदान गर्दै आएको छ।