गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्न भारतीय निकायमा प्रस्ताव

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्न भारतीय निकायमा प्रस्ताव

भौतिक पूर्वाधार निर्माण करिब सम्पन्न भई परीक्षणको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्न नेपालले ‘एयरपोर्ट अथोरिटी अफ इण्डिया’लाई प्रस्ताव गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन उपकरण तथा उडान विधिको चेकजाँच तथा परीक्षणका लागि विशेष उडान गर्नुपर्ने हुन्छ । यो उडान गर्ने जहाजमा परीक्षण गर्ने उपकरणहरु जडान गरिएका हुन्छन् । यसअघि थाइल्याण्डबाट यस्तो जहाज ल्याएर फ्लाइट क्यालिब्रेसन गर्ने तयारी थियो।


तर, विदेशबाट विशेष वायुयान र दक्ष विज्ञ आउन सम्भव नभएपछि भारतीय निकायसँग यसका लागि प्रस्ताव गरिएको हो । भारतीय निकाय यसका लागि इन्छुक समेत देखिएको भन्दै प्राधिकरणले नेपाल सरकारको स्वीकृतिका लागि पठाइएको जनाएको छ । सरकारले स्वीकृति दिएसँगै विमानस्थलको विशेष परीक्षण हुने छ । यस्तो उडान नभएसम्म विमानस्थलमा जडित उपकरणले काम गरे–नगरेको थाहा हुँदैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । आईसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो


फ्लाइट क्यालिब्रेसनपछि संचार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरुले काम गरे–नगरेको पत्ता लाग्नेछ । यस्तो फ्लाइटमा विज्ञहरु सहभागी हुन्छन् । परीक्षण उडान गर्न विशेष जहाज चाहिन्छ । कम्यूनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि भने जहाज उडानरअवतरणको बाटो खुल्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ । प्राधिकरणका अनुसार भैरहवा विमानस्थलमा फ्लाइट क्यालिब्रेसन सकिएपछिको तीन महिनामा विमानस्थल व्यवसायिक उडानका लागि योग्य बन्नेछ । प्राधिकरणका अनुसार त्यसपछि प्राधिकरण आफैंले परीक्षण उडान गरि अन्तर्राष्ट्रिय उडानका लागि यो विमानस्थल खुला गर्नेछ ।


प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७र७८ सम्म विमानस्थल आयोजनाको भौतिकतर्फको प्रगति ९७ प्रतिशत पुगेको छ । आयोजनालाई कोभिड १९ को प्रभाव भने परेको हो । चिनियाँ र थाइ प्राविधिक बढी खटिएको यो विमानस्थलमा काम गर्ने कामदार कोरोनाका कारण उतै रोकिएका थिए । कोरोना कम भएको र खोपको उपलब्धता पछि भने आयोजनाको कामले गति लिएको थियो । विमानस्थलमा अहिले जडान गर्नुपर्ने रनवे–लाइट, यान्त्रिक अवतरण प्रणाली, संचार–उड्डयन सहायक उपकरण, व्यागेज ह्याण्डिलिङ, एक्सेजस्ता उपकरणको जडानको काम सकिएसँगै विमानस्थल परीक्षण उडानका लागि तयार भएको हो । विमानस्थलमा अहिले क्याटवरी–४ बराबरको अग्नी निवारण तथा जीवनोद्धार सेवाका लागि आधुनिक दमकल र एम्बुलेन्स समेत खरिद गरी लयाइएको छ । विमानस्थलको धावनमार्ग, टर्मिनल भवन तथा टावरहरु निर्माणको काम भने दुई वर्ष अगाडी नै सम्पन्न भएको थियो । यो विमानस्थलमा एसियाली विकास बैंकले लगानी गरेको हो ।

दोस्रो टर्मिनल भवन र अन्य पूर्वाधार बनाउन साढे ३ अर्ब बजेट

सरकारले गत आर्थिक वर्ष भित्रै यो आयोजना संचालनमा ल्याउने लक्ष्य राखेको थियो । तर, कोरोना भाइरसको महाकारीसँगै आयोजना समेत पछाडी धकेलिएको हो ।

सरकारले चालु आवमा दोस्रो टर्मिनल भवनको निर्माणदेखि अन्य भौतिक संरचना निर्माणका लागि भन्दै थप साढे ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो आयोजनाले ३ अर्ब ५३ करोड रुपैयाँ बजेट पाएको छ ।

भैरहवा विमानस्थलको निर्माणको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । विमानस्थलको प्रारम्भिक लक्ष्य अनुसार डिसेम्बर २०१७ मै संचालनमा आइसक्नु पर्ने थियो । तर, यो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको हो । विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ ।

भैरहवामा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको धावनमार्ग निर्माण भएको छ । सोहीकारण काठमाडौंमा उडान–अवतरण हुने सबै क्षमताका विमानको उडान–अवतरण यहाँबाट पनि सम्भव हुनेछ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ । आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहनेछ । काठमाडौंमा प्राविधिक कारणले उडान अवतरण प्रभावित भयो भने जहाज अब भारत डाइभर्ट गर्नुपर्ने बाध्यता समेत हट्ने छ ।