दार्चुलामा बाढी र पहिरो : तिंकर सडकको पक्की पुल र घरहरु बगायो

दार्चुलामा बाढी र पहिरो : तिंकर सडकको पक्की पुल र घरहरु बगायो

दार्चुला : लगातारको वर्षाका कारण निजाङ्ग खोलामा गयराती आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगड स्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिए ।

 खोलाले स्थानीय दिपक बहादुर बमको घर तथा सुन्दर बहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले बताए । खोलामा बाढि आउदा सो क्षेत्रका स्थानीयहरु राती नै सुरक्षित स्थानमा गएका थिए । साथै श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।  यसैबिच लगातार भइरहेको वर्षाले महाकाली नदिमा पानीको बहाव बढेर भारत तर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुवानमा परेको छ ।

निजाङ्ग खोलामा आएको बाढीले केहि बेर महाकाली थुनिएपछि एनएचपिसी डुवानमा परेको भारतीय सुरक्षा स्रोतले जनाएको छ । एनएचपिसी डुवानमा परेपछि केहि कर्मचारी भित्रै फसेको तथा उनीहरूको  सकुशल उद्धार गरेको बुझिएको छ । बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।