दोदा नदिको बाढीले विस्थापित परिवार मन्दिरमा

दोदा नदिको बाढीले विस्थापित परिवार मन्दिरमा

कञ्चनपुर । दोदा नदीको बाढीले कञ्चनपुरको पुनर्वास–५ सिमरीमा विस्थापित परिवार अझै घर फर्किन सकेका छैनन् । बाढी घटे पनि घरभित्र भरिएको हिलो पन्छाउन नसकेका कारण फर्किन गाह्रो परेको हो ।

‘केही फर्किए, अधिकांश मन्दिर र आफन्तकहाँ आश्रय लिई बसेका छन्,’ पुनर्वास–५ का वडाध्यक्ष वीरबहादुर बोगटीले भने, ‘गहिरो ठाउँमा जताततै हिलो छ, घरभित्र पसेर बस्नै नसकिने भएको छ ।’ उनका अनुसार अग्लो स्थानका २० परिवार घर फर्के पनि ४० परिवार अहिले पनि नजिकैको भीमसेन मन्दिरमा बसेका छन् ।

विस्थापित परिवारलाई साँझबिहानको खाना नगरपालिकाले उपलब्ध गराएको छ । रेडक्रसले स्वास्थ्य सामग्री र चिउरा–चाउचाउ उपलब्ध गराएको वडाध्यक्ष बोगटीले बताए । दोदा नदीमा आएको बाढी शुक्रबार बस्तीमा पसेपछि करिब ६० परिवारले घर छाडेका थिए । लालझाडी–१ को नौरंगाबाट दोदाको बाढी सिमरीको बस्तीमा पसेको हो । दोदा नदीकै बाढीले विस्थापित भएको लालझाडी–३ नन्दगाउँ, कञ्ज र कसुवाका विस्थापित परिवार भने घर फर्किएका छन् । प्रहरीका अनुसार बाढी कम भएसँगै विस्थापित परिवार शनिबारदेखि घर फर्किन थालेका हुन् ।

यसैबीच महाकालीमा आएको बाढीका कारण सीमा क्षेत्रको बनवसा ब्यारेजको पुलमा बन्द गरिएको सवारी आवागमन आइतबार तेस्रो दिनदेखि खुला गरिएको छ । पानीको बहाव घटेपछि पुलमा आवागमन खुला गरिएको हो ।