दार्चुलाका बाढी पिडितको उद्धार तथा राहतका लागि हेलिकप्टर जादैं

दार्चुलाका बाढी पिडितको उद्धार तथा राहतका लागि हेलिकप्टर जादैं

दार्चुला । दार्चुलाका बाढी पिडितको उद्धार तथा राहतका लागि हेलिकप्टर जाने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको समन्वयमा नेपाल सरकारले दार्चुलाको प्रभावित क्षेत्रका लागि राहत सामाग्री सहित हेलिकप्टर प्रस्थान गर्न लागेको हो ।

विस्थापित तथा पिडित परिवारका लागि राहत सामाग्री सहित हेलिकप्टर पठाउन लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिएकी छिन । साथै यसअघि मन्त्री जोशीले बाढी पिडितको उद्धार तथा पन:स्थापनामा जुट्न स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी र स्थानीयलाई निर्देशन दिएकी थिइन् । 

गएरराती दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।

पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरूको पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

यस्तै दुहुँ गाउँपालिका–५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । त्यस्तै वडा नं ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् ।

निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलीपसिंह कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय पुगेका छन् ।