दार्चुलामा बाढी : घाइते भएका दुई जनालाई हेलिकप्टरमार्फत धनगढी ल्याइयो

दार्चुलामा बाढी : घाइते भएका दुई जनालाई हेलिकप्टरमार्फत धनगढी ल्याइयो

धनगढी । दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकप्टर मार्फत धनगढी ल्याईएको छ । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याईएको हो । घाइते दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार हुने बताईएको छ ।

दुबै जनालाई थप उपचारका लागि धनगढी पठाईएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजल विद्युत् समेत बगाएको छ ।

आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो ।

बाढीपहिरो गएको क्षेत्रमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । घाईतेको उद्धार, विस्थापित परिवारलाई राहत र पुनः स्थापना गर्न सुरक्षाकर्मी परिचालित छन् ।