बझाङका सबै विद्यालयमा आजबाट पठनपाठन सुरु

बझाङका सबै विद्यालयमा आजबाट पठनपाठन सुरु

बझाङ । बझाङमा लामो समय बन्द रहेका सामुदायिक तथा निजी विद्यालयमा आज देखि नियमित पठन पाठन सुचारु हुने भएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको सोमबार सदरमुकाम चैनपुरमा बसेको बैठकले आजदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

जिल्लामा कोभिड १९ को संक्रमित दर घटेको छ । पछिल्लो केहिदिन यता सक्रमितको संख्या शुन्य भएको र सबैतिरबाट विद्यालय खुलाउनुपर्ने माग आएपछि सोमबार बसेको बैठकले जिल्लाभरका विद्यालय खोल्ने निर्णय गरेको हो ।

नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधी २०७८ ले निर्देशित गरे अनुरुप जोखिमको मुल्याकंन गरी कार्यान्वयन गर्न लेखि आएको हुँदा सोहि अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

उनले भने ”सबै गाउँपालिकामा कोरोना संक्रमण घट्दो क्रममा रहेको र केहिदिन यता शुन्य संक्रमण भएकाले सबै क्षेत्र खुला रहेको बेला विद्यालय मात्र बन्द गर्न नहुने चौतर्फी दबाब आईरहेको थियो । केहि गाँउपालिकाले अस्तिनै विद्यालय संचालन गर्ने निर्णय गरि पठनपाठन सुरु गरेका थिए ।

जिल्लामा कोरोनाको अवस्था मूल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने वातावरण तयार भएपछि विद्यालय सञ्चालन गर्न लागिएको हो ।