कञ्चनपुरको भीमदत्त नगरपालिकाले छाडा पशु छाडनेको सेवा रोक्ने

कञ्चनपुरको भीमदत्त नगरपालिकाले छाडा पशु छाडनेको सेवा रोक्ने

कञ्चनपुर । भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया नियन्त्रणका लागि कडाइ गर्न थालेको छ । नगरपालिकाले पशु चौपाया छाडा छाड्ने बासिन्दालाई नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक अन्य सेवा रोक्का गर्न लागेको हो ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले पशु चौपाया छाड्ने बासिन्दालाई अत्यावश्यक बाहेक सेवा रोक्का गरिने घोषणा गरेका छन् ।

‘छाडा पशु चौपाया नियन्त्रणका लागि नगरपालिका लागि परेको छ, वडा अध्यक्षज्यूहरूलाई भनिएको छ , कानुन बनाइएको छ’ उनले भने,‘अब छाड्ने व्यक्तिलाई अत्यावश्यक बाहेक सेवा रोकेर पनि यसलाई नियन्त्रण गरिनु पर्छ ।’

भीनपाका सबै वडा अध्यक्षहरूलाई आ–आफ्नो वडामा छाडा पशु चौपाया नियन्त्रणका लागि सक्रियता देखाउन मेयर विष्टले आग्रह गरेका छन् ।

स्थानीय तह निर्वाचनपछि मेयर विष्टले पहिलो नगर सभाबाट छाडा पशु चौपाया व्यवस्थापनका लागि नीतिगत निर्णय गरी बजेट विनियोजन गराएका थिए । छाडा पशु चौपाया व्यवस्थापनका लागि निर्देशिका बनाएर वडा कार्यालयलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

बागफाँटा र ब्रह्मदेबमा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरी सञ्चालन गरिएका थिए । ब्रह्मदेबमा गौ अनुसन्धान केन्द्रका रुपमा गौशाला निर्माण गरिएको छ ।

स्थानीय तह निर्वाचनमा स्थानीयले छाडा पशु चौपाया व्यवस्थापनको माग अघि सारेका थिए । नगर बासिन्दाको माग अनुसार गौशाला बनाएर चौपाया नियन्त्रण गरिएका थिए । पछिल्लो समय फेरि चौपाया छाड्ने क्रम बढेपछि महेन्द्रनगर बजार क्षेत्रमा छाडा चौपाया देखिन थालेका छन् ।