एमाले सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा

एमाले सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा

धनगढी । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोज्न सनाखतका लागि सुदूरपश्चिम प्रदेश सांसद प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका छन् ।

नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न उनीहरु अहिले प्रदेश निर्वाचन कार्यालयमा पुगेका हुन् । प्रदेश निर्वाचन कार्यालय, धनगढीमा उपस्थित भइ प्रदेश सभा सदस्यहरु नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्दै छन ।

माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसहित भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउँदले सनाखत गर्ने जनाएका छन् ।

यस्तै एमाले प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेशसभा सदस्य तारालामा तामाङ, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गर्ने संकेत गरेका छन् । 

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्।