सभापतिको एकल उम्मेद्वार चयन गर्न बसेको बैठक निष्कर्षविहीन

सभापतिको एकल उम्मेद्वार चयन गर्न बसेको बैठक निष्कर्षविहीन

नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट सभापतिको एक मात्र साझा उम्मेद्वार चयन गर्न बसेको बैठक निष्कर्ष विहीन भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसेको नेताहरुको बैठकमा साझा उम्मेद्वार चयन गर्ने प्रयास विफल भएको हो।

आउँदो १४औँ महाधिवेशमा शेरबहादुर देउवालाई पराजित गर्न संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार हुनुपर्ने कुरामा नेताहरु सहमत भए पनि सबैले आफैँ हुनुपर्ने दाबी मंगलबारको बैठकमा समेत गरेका हुन्।

बैठकमा पौडेलसहित महामन्त्री सशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी र बलबहादुर केसी सहभागी थिए। केसीद्वयले आफैँ सभापतिको उम्मेद्वार हुनुपर्ने अडान खरो रुपमा नराखे पनि बाँकी चार नेताले आफूले मात्र देउवालाई पराजित गर्न सक्ने भन्दै समर्थनका लागि आग्रह गरेका छन्।

बैठकबारे जानकारी दिँदै एक नेता भने, ‘आज पनि सुनाउन लायक केही छैन। हामी छलफलमै छौँ।’ साझा उम्मेद्वार चयन गर्न नेताहरु निरन्तर औपचारिक अनौपचारिक छलफलमा जुटिरहेका छन्। संस्थापन पक्षमै रहेका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गर्दै तयारी तीव्र पारिसकेका छन्।

उनले आइतबार तामझामसहित बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर अघि बढेका छन्। निधिको उम्मेद्वारी घोषणाले अरु नेताहरु तताए पनि संस्थापन इतर समूहले साझा उम्मेद्वार छान्नै सकेको छैन। सभापतिमा देउवाले फेरि दोहोरिन तयारी गरिरहेका छन्।