केही दिन वर्षा कम हुने

केही दिन वर्षा कम हुने

मनसुनको भदौरे झरी एक–दुई दिनका लागि सामान्यतर्फ उन्मुुख भएको छ । गत हप्ता निकै सक्रिय बनेको न्यून चापीय रेखाको प्रभाव कमजोर बनेपछि एक–दुई दिनका लागि देशका अधिकांश भूभागमा भारी वर्षा हुने छैन ।

बागमती प्रदेशमा अबको एक दिन अझै भारी वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार रातिदेखि कमजोर भएको प्रणालीले एकाध दिन विश्राम लिनेछ । यसका कारण अबको केही दिन आकाशमा घाम अलिक बढी देखिन पाइने छ ।

अर्को न्यून चापीय रेखामाथि सर्दै आउने क्रम जारी रहेकाले केही दिनपश्चात् फेरि मनसुन सक्रिय हुने सम्भावना रहेको जनाइएको छ । अझै एक महिना पूरै मनसुनकै महिना भएकाले अबको १५ दिन थप सक्रिय हुने सम्भावना बलियो रहेको छ । त्यसपछि बिस्तारै मनसुन कम हुनेछ ।

विगत २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भए पनि त्यसले मानवीय क्षति पु(याएको छैन । दार्चुलामा पहिरोमा परी एक जना घाइते भएबाहेक अन्य क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।