दार्चुला घटनामा एसएसबीकै संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

दार्चुला घटनामा एसएसबीकै संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)कै संलग्नता रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा एसएसबीको संलग्नतामा पुनः अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिश गरेको छ । समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदन हिजो गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ । 

घटना भएको ठाउँ भारतीय भूमि भएकाले नेपाल तर्फबाट अनुसन्धान गर्न कानुनी जटिलता रहेको समितिको निष्कर्ष छ । समितिले घटनाको अनुसन्धान भारततर्फबाट पनि गराई दोषीलाई कारबाही र पीडित परिवारलाई राहत दिलाउनको लागि कुटनीतिक पहल आवश्यक रहेको ठहर गरेको छ । 

‘समितिले घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानूनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिश गरेको छ’ गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गएको साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता हुनुभएको थियो । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण धामी नदीमा खसेको बताएका छन् । आफ्नो नागरिकमाथि भएको यो मानवताविरोधी अपराधबारे छानबिन र दोषीलाई कारबाही गराउन सरकारले अहिलेसम्म कुटनीतिक पहल गरेको छैन ।