भारतविरुद्ध जित्नैका लागि मैदानमा उत्रिने छौँ : अलमुताइरी

भारतविरुद्ध जित्नैका लागि मैदानमा उत्रिने छौँ : अलमुताइरी

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमलाइरीले भारतविरुद्ध मैदान उत्रिँदा आफ्नो एक मात्र लक्ष्य जित हुने बताएका छन् । उनले बुधबार प्रि म्याच कन्फरेन्समा बोल्दै नेपालले भारतविरुद्ध बराबरीका लागि नभएर जित्नैका लागि खेल्ने बताएका हुन् ।

‘भारत धेरै बलियो टोली हो । हामी विरुद्ध उसको इतिहास निकै राम्रो छ  । हामीलाई दुवै खेल जित्न आवश्यक छ,’अलुताइरीले भने, ‘राष्ट्रिय टिमले खुसी बनाउने होइन, गर्व गर्न लायक बनाउनु आवश्यक छ । हामी बराबरीका लागि नभएर जितका लागि खेल्ने छौँ ।’

नेपालले भारतविरुद्ध दुई मैत्रीपूर्ण  खेल खेल्दैछ । पहिलो खेल बिहीबार (भोलि) दशरथ रंगशालमा साँझ साढे पाँच बजे हुने छ । नेपालले भारतविरुद्ध दोस्रो खेल आइतबार खेल्नेछ ।

दुवै टोलीले यो मैत्रीपूर्ण खेललाई अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुने १३ औँ संस्कणको साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएका छन् । नेपालले अक्टोबर १ मा आयोजक माल्दिभ्ससँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ।