काठमाण्डौ उपत्यकामा निषेध आदेशको ‘मोडालिटी’ परिवर्तन

काठमाण्डौ उपत्यकामा निषेध आदेशको ‘मोडालिटी’ परिवर्तन

गएको वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरूप (मोडालिटी) मा परिवर्तन भएको छ । आज बुधवार काठमाण्डौ उपत्यका (काठमाण्डौ, ललितपुर र भक्तपुर) का तीन जिल्लाका प्रमुखहरूको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको स्वरूपमा परिवर्तन गरेको हो । 

बैठकपछि काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भदौ मसान्तसम्म जारी रहने बताउनुभयो । उहाँले बुधवार जारी आदेशले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सबै किसिमका व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार अब काठमाण्डौ उपत्यकामा भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको हकमा १८ वर्ष भन्दामुनिका बालबालिकाहरूले खोप नलगाएकोले अझै केही समय रोक्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको जिम्मा पालिकालाई दिइएकोले कोभिड १९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने पनि बताउनुभयो । उहाँले चाडपर्वहरू भौतिक उपस्थितिमा नमनाउन आग्रह गर्नुभएको छ । मनाउने भए साङ्केतिक रूपमा मात्र मनाउन पनि आदेश जारी गरिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले व्यापार, व्यवसाय गर्न पाउने भन्दैमा स्वास्थ्यका मापदण्ड पालना गर्न छोड्न नहुने बताउनुभयो । उहाँले उपत्यकामा स्वास्थ्य मापदण्डको पालना भए/नभएको बारे प्रशासनले नियमित र आकस्मिक अनुगमन गरिरहने पनि बताउनुभयो । अनावश्यक रूपमा जम्मा भएर भिडभाड गर्ने, सभा–जुलुस गर्ने, जात्रा, महोत्सव र भोज आदि कार्य गर्न नपाउने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।