सुदूरपश्चिमका हिक्मत महरा कमेडी च्याम्पियनबाट बाहिरिए

सुदूरपश्चिमका हिक्मत महरा कमेडी च्याम्पियनबाट बाहिरिए

स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट हिक्मत महरा आउट भएका छन् । सेमिफाइनलको प्रस्तुतिमा दिएको भोटका आधारमा उनी आउट भएका हुन् ।

सुदूरपश्चिमको कञ्चनपुरका हिक्मत वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए । हिक्मत आउट भएसँगै भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा फाइनलमा प्रवेश गरेका छन् ।

कमेडी च्याम्पियनको नयाँ श्रृंखला प्रशारण भइसकेको छैन । तर, स्रोतका अनुसार हिक्मत शोबाट बाहिरिसकेका छन् । शो छायांकन भइसकेको छ । सेमिफाइनलमा बिक्कीले ‘पेन्टोमाइम’ प्रस्तुति दिएका थिए ।

उनको उक्त प्रस्तुति आफूले नबुझेको निर्णायक सन्तोष पन्तले बताउँदै दर्शकले पनि नबुझ्ने र भोट कम आउनसक्ने बताएका थिए । सोही अभिव्यक्तिका कारण उनको चर्को आलोचना भएको थियो । यद्यपि बिक्की फाइनल प्रवेश गरेका छन् ।

सोही श्रृंखलामा भरतमणिले पूर्व युवराज पारस शाह बनेर गरेको क्यारिकेचर लोकप्रिय बनेको थियो । अब भोट माग्नका लागि प्रतिस्पर्धीहरु गृह जिल्ला जाँदैछन् । भरतमणि ताप्लेजुङका हुन् भने बिक्की सिक्कमका र सन्तोष गोरखाका कमेडियन हुन् ।