भारतबाट गड्डाचौकी नाका हुँदै फर्कने सुदूरपश्चिमेलीलाई सीमामै खोप

भारतबाट गड्डाचौकी नाका हुँदै फर्कने सुदूरपश्चिमेलीलाई सीमामै खोप

कैलाली । भारतबाट घर फर्किने नेपालीलाई सीमा नाकामै कोभिड-१९ विरुद्धको खोप दिन थालिएको छ । भाद्र १० गतेदेखी जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरको सहयोगमा भिमदत्त नगरपालिकाले गड्डाचौकी नाका भएर नेपाल फर्कनेहरूलाई सीमामै कोभीड-१९ विरुद्धको खोप दिन थालेको हो । 

गड्डा चौकी हेल्थ डेस्कका प्रमुख डाक्टर सन्तोष भट्टले भाद्र १० गतेदेखि आज १७ गतेसम्म ६७२ जनालाई कोभीड-१९ को खोप लगाइसकेको बताए । भारतबाट नेपाक फर्कनेहरूको एन्टिजेन टेस्ट गरेर नेगेटिभ आएकालाई अस्ट्राजेनेकाको खोप लगाइएको डाक्टर भट्टले बताए ।

उनले सरकारको निर्णय अनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको बताउदै पहिलो डोज नाकामा लगाएकाहरूले दोस्रो डोज भने सम्बन्धित पालिकामै लगाउनु पर्ने बताए । रोजगारीका लागि भारतको सिमला पुगेका डोटीका झलक सार्कीले थप काम केही नपाएपछि नेपाल फर्कने निधो गरे ।

तर, ४/५ महिना भारत बसेर नेपाल फर्कँदै गरेका सार्कीलाई काम नपाएको भन्दा बढी कोभिड संक्रमित त हुने होइन भन्ने चिन्ताले भने निकै पिरोलेको थियो । तर, नेपाल छिर्ने बित्तिकै सीमानामै खोप लाउन पाएपछि भने आफू ढुक्क भएको सार्कीले बताए ।