अमेरिकाको न्युयोर्कमा बाढी, आपतकाल घोषणा

अमेरिकाको न्युयोर्कमा बाढी, आपतकाल घोषणा

अमेरिकाको न्युयोर्क शहर अविरल वर्षाका कारण डुबान भएको छ । न्युयोर्कमा अहिलेसम्मकै सबैभन्दा ठूलो पानी परेपछि बाढी आएको हो । शहरमा बाढी आएसँगै आपतकाल घोषणा गरिएको छ ।

न्युयोर्कका मेयर बिल डे ब्लासिओले अहिले शहरले ऐतिहासिक मौसमी घटनाको सामना गरिरहेको बताएका छन् । उनले अहिले न्युयोर्कमा ठूलो बाढी देखिएको र सडकहरु जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको केही फुटेजमा न्युयोर्कका सबस्टेसन, मानिसको घरमा बाढी पसेको देख्न सकिन्छ भने सडकहरु पनि जलमग्न भएका छन् । त्यस्तै न्युजर्सीमा पनि आपतकाल घोषणा गरिएको छ । न्युजर्सीमा बाढीका कारण कम्तीमा एक जनाको मृत्यु भएसँगै आपतकाल घोषणा गरिएको हो ।

अविरल वर्षाका कारण न्युयोर्कको अधिकांश सबवे बन्द भएका छन् भने धेरै रेल सेवा र हवाई उडान पनि रद्द भएका छन् । हुरिकेन समुद्री आँधीका कारण न्युयोर्क, न्युजर्सीलगायतका क्षेत्रमा भारी वर्षा भएको हो । आइतबार सोही आँधीका कारण लोउसियानाका हजारौं घरमा बिजुली अवरुद्ध भएको थियो । अझै पनि धेरै घरमा विद्युत अवरुद्ध नै छ । यस्तै न्यु ओर्लियन्समा अहिले रात्रीकालीन कर्फ्यु लगाइएको छ । मौसमविद्हरुले अझै धेरै वर्षा हुन सक्ने चेतावनी दिएका छन् । जलवायु परिवर्तनको कारण पछिल्लो समय कतै खडेरी पर्ने र कतै अतिवृष्टि हुनेजस्ता समस्या देखिइरहेका छन् ।