दार्चुलाको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

रासस    

दार्चुलाको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने सो आयोजना २८ दशमलव ३० मेगावाटको हुने जनाइएको छ ।

दार्चुला पावर प्रालीले सो जलविद्युत् आयोजना अघि बढाउन लागेको हो । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरुआत भएको कम्पनीले जनाएको छ ।

अध्ययनका क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, जैविक, प्राकृतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग रायसुझाव माग गरेको छ । यसका असरबारे सम्बन्धित सरोकारवालालाई एक साताभित्र आइपुग्ने गरी रायसुझाव पठाउन अपिल गरिएको छ ।

मार्मा २, ३, ४, ५ र ६ भएर बग्ने चमेलिया नदीको पानी प्रयोग गरी लामबगरमा बाँध निर्माण गरिने कम्पनीले जनाएको छ । बाँधमा जम्मा भएको पानी करिब सात हजार ८० मिटर लामो हेडरेस पाइपमार्फत सतही विद्युत्गृहमा खसाली विद्युत् उत्पादन हुनेगरी डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न रु छ अर्ब १८ करोड ९४ लाख ४४ हजार लागत अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक सरदर ११८ दशमलव ५२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

यही खोलामा अहिले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजनाको ४० प्रतिशत बढी काम पूरा भएको छ । भने शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचमा ३० मेगावट चमेलिया जलविद्युत् निर्माण भएको छ ।

अहिले निर्माणाधीन चमेलिया जलविद्युत्को ड्याम अपिहिमाल गाउँपालिका– ५ को ओखल नजिकै निर्माण गरेर मार्मा– २ घट्टेगाडमा पावर हाउस निर्माण गरिएको छ । विद्युत् निर्माणपछि यो क्षेत्रमा विकासको ढोका खुला हुने विश्वास गरिएको छ ।

अहिले अपिहिमाल गाउँपालिकाको मकरीगाडमै १० मेगावटको मकरीगाड हाइड्रोपावर निर्माणाधीन छ । भने अपिहिमालको वडा नं १ मा ६० मेगावाटको विद्युत् उत्पादन गर्नेगरी सम्भाव्यता अध्ययनको काम भइरहेको छ । 



शुक्रबार १८, भदौ २०७८ ०३:३८ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस