लिटिल फ्लावर प्रिमियर लिग-६: सहभागी १० टोलीको नाम सार्वजनिक

लिटिल फ्लावर प्रिमियर लिग-६: सहभागी १० टोलीको नाम सार्वजनिक

धनगढी । कैलालीको धनगढीमा आगामी माघ अन्तिम सातादेखि हुने लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) को छैठौं संस्करणमा सहभागी टोलीहरुको नाम सार्वजनिक गरिएको छ । लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट र लिटिल फ्लावर बोर्डिङ स्कुलको आयोजनामा धनगढीमा आयोजना हुदैं आएको प्रतियोगिताको छैठौं संस्करणमा सहभागी १० वटा विद्यालयको टोलीको नाम प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिएको हो । 

विद्यालयको टोलीमा ९ जना राष्ट्रिय टीमका १९ बर्षका खेलाडीहरु समावेश गर्न पाउने प्रतियोगितामा सुदूरपश्चिमका अधिकांश टीमहरु रहेका छन् । प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाईस्कुल धनगढी, कैलाली गुरुकुल इङलिस मिडियम हाईस्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङलिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलालीले सहभागीता जनाउनेछन् ।

त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कंचनपुर, हिमालयन व्हाईट हाउस वल्र्ड स्कुल काठमाडौ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौले सहभागीता जनाउने आयोजकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

नेपाली क्रिकेटको भविष्य बलियो बनाउनका लागि आयोजना गर्न लागिएको विद्यालय स्तरको राष्ट्रिय क्रिकेट लिगमा देशभरका १० वटा विद्यालयले सहभागिता जनाउने छन । अघिल्लो संस्करणमा १६ वटा टीमहरु सहभागी हुदै आएकोमा अबको संस्करणमा १० टीम मात्रै सहभागी गराईने लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

‘अघिल्लो संस्करणसम्म १६ वटा टीमलाई चार समुहमा विभाजन गरेर प्रतियोगिता खेलाईरहेका थियौं । अबको संस्करणमा १० टीमलाई दुई समुहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गर्छौ ।’ अध्यक्ष शाहीले भने–‘सहभागी टीम र खेलाडीहरुले बढीभन्दा बढी खेल खेल्न पाउन र आफ्नो प्रतिभा देखाउन पाउन भनेर यसपाली खेल तालिकालाई परिवर्तन गरेर सञ्चालनको तयारी गरेका हौं ।’