टोकियो पारालम्पिकः पदक जित्नबाट चुकिन् पलेशा

टोकियो पारालम्पिकः पदक जित्नबाट चुकिन् पलेशा

जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेज फाइनलमा पराजित भएकी छन् । के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशा कास्य पदकका लागि भएको रिपेज फाइनलमा चिनिया खेलाडी युजी लिसँग १२–९ ले पराजित भएकी हुन् ।

टोकियोमा भएको खेलमा पलेशाले पहिलो राउण्डमा ४–२ ले अग्रता बनाएकी थिइन् । तर दोस्रो राउण्डमा लय कायम राख्न नसक्दा युजी लिले ५–० ले नतिजा आफ्नो पक्षमा पार्दा पलेशा ७–४ ले पछि परिन् । तेस्रो तथा अन्तिम राउण्डमा दुवै खेलाडीले ५–५ अंक स्कोर गरेपछि चिनियाँ खेलाडीले १२–९ ले खेल जितिन् । दोस्रो राउण्डमा अंक जोड्न नसक्दा पलेशाले पदक जित्न सकिनन् । त्यसअघि पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

पलेशाले रिपेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले र सेमिफाइनलमा सर्वियन खेलाडी मारिजा मिसेभलाई २३–१५ ले हराएकी थिइन् । पारालम्पिकमा तेक्वान्दो यसै संस्करणदेखि समावेश गरिएको हो ।