कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक युवकको उद्धार

कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक युवकको उद्धार

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक युवकको उद्धार गरिएको छ। भारतको सिम्लाबाट घर फर्किरहेका दोधारा चाँदनी नगरपालीका ८ सुन्दरपुरका २९ वर्षीय नर बहादुर बुढालाई गड्डाचौकी नाकाबाट उद्धार गरिएको हो।

भारतको सिम्लाबाट घर फर्किरहेका उनलाई गाडीमा लठ्याउने औषधी खुवाई १५ हजार भारु र एक थान मोबाइल लुटेर बनबासामा अलपत्र पारेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो। बनबासाबाट भारतीय सुरक्षाकर्मीले उद्धार गरी बुढालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी गड्डाचौकीबाट सीमानाकामा खटिएको टोलीलाई बुझाएको थियो।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको र लुटपाटमा संलग्न समूहको भारतीय सुरक्षाकर्मीसंग आवश्यक समन्वय गरी खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।पछिल्लो समय भारतबाट आउने नेपालीलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरिएकोले यस प्रती सचेत रहन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर आग्रह गरेको छ ।