भारतमा सक्रिय कोरोना संक्रमितको संख्या बढ्यो

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या बढ्यो

भारतमा कोरोनाभाइरसका ४२ हजार ६१८ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये केरला राज्यका मात्रै २९ हजार ३२२ जना छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै कोरोनाका कुल सङ्क्रमित तीन करोड २९ लाख ४५ हजार ९०७ पुगेको छ । भारतमा हाल चार लाख पाँच हजार ६८१ जना सक्रिय सङ्क्रमित छन् ।

गएको चौबीस घण्टामा ३६ हजार ३८५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म तीन करोड २१ लाखभन्दा बढी सङ्क्रमित निको भइसकेका छन् । गएको चौबीस घण्टामा ३३० जना सङ्क्रमितको मृत्यु भएको छ । जसमध्ये केरला राज्यमा मात्रै १३१ जना सङ्क्रमितको मृत्यु भएको हो ।

भारतमा हालसम्म ५२ करोड ८२ लाख नमूना परीक्षण गरिएको छ । गएको चौबीस घण्टामा १७ लाख चार हजार ९७० नमूना परीक्षण गरिएको हो ।