दार्चुलाका बाढीपहिरो प्रभावित सार्न सुरक्षाकर्मी खटिए

दार्चुलाका बाढीपहिरो प्रभावित सार्न सुरक्षाकर्मी खटिए

दार्चुला । बाढीपहिरोले प्रभावित बनेको दुहु गाउपालिकामा चार दिनपछि जिल्लाबाट सुरक्षाकर्मी पुगेका छन् । सदरमुकामबाट १८ किलोमिटर दुरीमा रहेको बाढीप्रभावित क्षेत्र दुहु गाउपालिका–५ र वडा २ मा जिल्लाबाट सेनासंगै सशस्त्र प्रहरी र प्रहरी घटनास्थल पुगेको स्थानीयले बताएका छन् । गत आइतबार राति दुहु गाउपालिकामा बाढिपहिरोबाट ठूलो मात्रामा जनधनको क्षति भएको थियो ।

अहिले पनि उक्त क्षेत्रमा बाढिपहिरो आउने क्रम नरोकिएको हुनाले स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि जिल्लाबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासनले जनाएको छ । सदरमुकाम खलंगाबाट सशस्त्र प्रहरी, प्रहरी र सेनाको टोली दुहुको बाढिपहिरो निरीक्षण तथा उद्धारमा खटिएको हो ।

बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा ओसार्न सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए । बाटो नहुदा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न सकिएको थिएन् । श्रीवगरमा अस्थायी काठेपूल बनाएपछि अहिले सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खटिएका हुन् ।

श्रीबगरमा रहेको दार्चुला–तिंकर सडकको निजाङगाडको मोटरेबल पूल बगाएपछि दुहु र ब्यास गाउपालिकाको सदरमुकामसंगको सम्बन्ध बिच्छेद हुन पुगेको थियो । निजाङगाडमा सुरक्षाकर्मीले काठको अस्थाई पुल राखेपछि स्थानीयलाई आवतजावतमा सहजता आएको छ ।

यसैबीच दार्चुला–तिंकर सडक खण्डको निजाङगाड खोलामा सवारी साधन चल्ने बनाउन बिहीबारबाट डोजर लगाएको छ । यो क्षेत्रमा ह्युमपाइप राखेर सवारी चल्ने गरी काम भइरहेको प्रहरीले जनाएको छ ।