तुइन घटनामा सरकार मौन रहेको भन्दै विप्लवका विद्यार्थीको प्रदर्शन

तुइन घटनामा सरकार मौन रहेको भन्दै विप्लवका विद्यार्थीको प्रदर्शन

दार्चुलामा भएको तुइन घटनामा सरकारमा मौन रहेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसअगाडि उनीहरूले दार्चुला तुइन घटनामा बेपत्ता भएका जयसिंह धामीको विषयमा सरकार मौन रहेको भन्दै प्रदर्शन गरेका हुन् ।

यस्तै, उनीहरूले नेपाली आकाशमाथिबाट भारतीय हवाई गस्ती र भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपालप्रति हेपाहा शैलीमा अभिव्यक्ति दिएको भन्दै आक्रोश जनाएका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘जयसिंह धामीलाई सहिद घोषणा गर’, ‘कालापानी, नालापानी, लिपुलेक नेपाली भूमि हुन्’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।प्रदर्शनमा अखिल क्रान्तिकारीका चिरन्जीवी ढकाले नेपालमा भारतको हस्तक्षेप बढ्दै जाँदा पनि सरकार मौन बसेको आरोप लगाए ।

उनले राष्ट्रिय स्वाधीनताका विषयमा कुनै सम्झौता हुन नसक्ने भन्दै सरकार नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।