चन्द्रागिरि केबलकार सञ्चालनमा, खुलेकै पहिलो दिन आज दुई हजार जना पुगे

चन्द्रागिरि  केबलकार सञ्चालनमा, खुलेकै पहिलो दिन आज दुई हजार जना पुगे

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केबलकार आजदेखि सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा आज पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उहाँले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौँ, ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था छ, मास्कविना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भीडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ ।’ उहाँले सर्वसाधारणका लागि केबलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्ट गएको असारबाट नै खुलाइएको जानकारी दिनुभयो । 

यसैगरी आजदेखि चन्द्रागिरिमा जीप लाइन पनि सञ्चालनमा आएको छ । आज त्यहाँ पुगेकामध्ये कतिपयले जीप लाइनको मज्जा पनि लिएका थिए । काठमाण्डौ खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा आजदेखि जीप लाइन पनि थपिएको हो ।