भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल आज

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार (आज) हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु हुनेछ। बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। 

घरेलु टोली नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिएको हो। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले खेलको ३६औं मिनेटमा गोल गरेको थियो। अञ्जन विष्टले भारतीय गोलरक्षक गुरप्रीतसिंह सन्धुलाई बिट गर्दै गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको ६१औं मिनेटमा गोल खाएको थियो। अनिरुद्र थापाले गोल गर्दै भारतलाई हारबाट जोगाएका थिए।

आइतबार पनि नेपालले आक्रामक खेल खेल्ने भएको छ। युवा खेलाडीको बाहुल्यता रहेको नेपालले बिहीबारजस्तै आक्रामक खेल खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। ‘नेपालले दोस्रो मैत्रीपूर्ण खेल पनि आक्रामक रुपमै खेल्छ’, बिहीबार खेलपछि प्रशिक्षक अलमुताइरीले भनेका थिए। उनले मैत्रीपूर्ण खेल भएकाले यसअघि बेञ्चमा रहेका खेलाडीलाई पनि मौका दिने बताएका थिए। उनले नेपाली टोलीको सेट मिलाउन खेलाडीको व्यक्तिगत प्रदर्शन र क्षमता बुझ्न मैत्रीपूर्ण खेल फलदायी हुने बताउँदै आएका छन्।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले घरेलु मैदानमा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। मैत्रीपूर्ण खेलपछि नेपाली टोली भदौ २५ गते कतारको दोहा प्रस्थान गर्नेछ। दोहामा तयारी गरेर नेपाली टोली माल्दिभ्स जानेछ। 

साफ च्याम्पियनसिप असोज १५ देखि असोज ३० गतेसम्म आयोजना हुँदैछ। नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८, भारतसँग असोज २४ र बंगलादेशसँग असोज २७ मा प्रतिस्पर्धा गर्नेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन्।