धनगढीमा ट्राफिक जाम : सर्वसाधारण हैरान, खाल्डाखुल्डी पुर्न उपमहानगर उदासिन

धनगढीमा ट्राफिक जाम : सर्वसाधारण हैरान, खाल्डाखुल्डी पुर्न उपमहानगर उदासिन

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सवारीको चाँप बढ्दै गएपछि ट्राफिक जाम हुन थालेको छ । सवारी साधनको संख्या बढ्दै जानु र सडक साघुरो भएका कारण धनगढीमा ट्राफिक जाम बढ्न थालेको हो । धनगढी उप–महानगरपालिको मुख्य सडक क्षेत्रमा ट्राफिक जाम बढेपछि यात्रु र सवारी साधन चालकहरु हैरान भएका छन ।

विशेष गरी उपमहानगरपालिको मुख्य सडक क्षेत्र एलएन चोक, पार्कमोड र चौराहा देखि बसपार्क सम्मको क्षेत्रमा यात्रु र सवारी साधनका चालकहरुले समस्या झल्दै आएका छन । ट्राफिक जाम बढ्नुको मुख्य कारण सवारी साधन बढ्नु र सडक साघुरो मात्र नभइ जथाभावी पार्किङ्ग गर्नु पनि रहेको छ । सोही ट्राफिक जाम हुने घटना आज दोहोरिएको छ ।

मुख्य सडक अन्तर्गत त्रिनगर माध्यमिक विद्यालयदेखि पार्कमोड सम्म आज विहान करिब आधा घण्टा भन्दा बढी ट्राफिक जाम लागेको हो । आजदेखि कैलालीमा विद्यालय भौतिक रुपमा सञ्चालनमा समेत आएका छन । लामो समयदेखि कोभिड–१९ का कारण बन्द अवस्थामा रहेका विद्यालय आजबाट सञ्चालन आएसँगै सडकमा चहलपहल बढेको छ । निषेधाज्ञा पूर्ण रुपमा खुलेसँगै सडकमा सवारी साधनको चाप पनि बढेको पाइएको छ ।

सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय खुल्न र सडकमा परेका खाल्डाँखुल्डीका कारणले ट्राफिक जाम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक विरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

भोलीदेखि विहान साढे ८ बजेदेखि साढे ११ बजे र साँझ ३ बजदेखि ६ बजेसम्म ट्राफिक चौराहादेखि क्याम्पस रोड सम्म ठुला गाडीहरु चल्न रोक लगाउने उनले बताए । साथै सडकहरुमा परेका खाल्डाखुल्डी पुर्न उप–महानगरपालिकाले ध्यान दिनु पर्ने कैलालीका ट्राफिक प्रमुख तथा प्रहरी निरिक्षक बोहराले बताए ।

सबैले खाल्डाखुल्डी नभएको ठाउँबाट सवारी साधन गुडाउन खोज्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको सर्वसाधारणहरु बताउँछन ।