सुदूरपश्चिममा पहिलोबाट चौथो दल बन्यो एमाले, विभाजनको असर

सुदूरपश्चिममा पहिलोबाट चौथो दल बन्यो एमाले, विभाजनको असर

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा एमालेका थप तीनजना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र पूर्वमन्त्री प्रकाश रावलले आइतबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर समाजवादीको पक्षमा सनाखत गरेका छन् । 

सोडारी एमाले कैलाली र तामाङ एमाले कञ्चनपुरका अध्यक्ष हुन् । दुवैजना पार्टी विभाजनपछि समाजवादीमा लागेका थिए । यसअघि आफू एमालेमै रहने बताएका पूर्वमन्त्री रावल पनि समाजवादीमा लागेका छन् । योसँगै प्रदेशमा समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ । १० जना सांसदले गत बुधबार नै समाजवादीको पक्षमा सनाखत गरिसकेका थिए । प्रदेश सभामा एमालेभन्दा समाजवादी ठूलो दल बनेको छ ।

एमालेका सभामुखबाहेक २४ मध्ये १३ जनाले समाजवादी रोजेपछि एमाले ११ जनामा खुम्चिएको छ । एमाले विभाजनअघि माधव नेपाल समूहमा १७ जना थिए । नेपालनिकट आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाह, राज्यमन्त्री अर्चना गहतराज, सांसद हर्कबहादुर कुँवर र कृष्णराज सुवेदीले आफू एमालेमै रहने बताउँदै आएका छन् ।

प्रदेश सभामा नेपाल समूहमा पनि भीम रावलको बलियो पकड थियो । तर, रावलले नेपालको साथ छाडेपछि प्रदेश सभामा उनको पकड कमजोर भएको छ । १७ मध्ये चारजनाले मात्र रावललाई साथ दिएका छन् । एमाले रोजेका कुँवर रावलका भिनाजु नाता पर्छन् । एमालेमा ओलीनिकट सातजना मात्र थिए ।

हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादीका दुई सांसद छन् । एकजना थपिए समाजवादी ठूलो दल बन्नेछ । मन्त्री सोडारीले समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बन्ने दाबी गरे ।

‘दल रोज्ने समय अझै दुई दिन बाँकी छ । एक–दुईजना साथीहरूसँग छलफल भइरहेको छ । हामी कम्तीमा १४ जना पुर्‍याउँछौँ,’ उनले भने, ‘एकीकृत समाजवादी प्रदेशमा सबैभन्दा ठूलो दल बन्छ ।’

सरकारको बहुमत गुम्न नदिने उनले दाबी गरे । प्रदेश सरकारको बहुमत कायम राख्ने गरी कम्तीमा थप एकजना सांसद समाजवादीमा खुल्ने सोडारीको दाबी छ । ५२ सदस्यीय प्रदेश सभामा प्रदेश सरकार बहुमतमा रहिरहन २७ सांसद आवश्यक पर्छ ।

सरकारमा माओवादी केन्द्र र समाजवादीको गठबन्धन कायम राख्ने गरी संख्या पुग्ने एमाले संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहेका तामाङले दाबी गरे । प्रदेश सरकारमा एमालेबाट चार मन्त्री र तीन राज्यमन्त्री थिए । एमाले रोजेका मन्त्रीलाई दल रोज्ने समयसीमा २२ भदौपछि हटाइने बताइएको छ ।  नयाँ पत्रिकाबाट