कञ्चनपुरको भीमदत्तमा तीन अर्बको फोहरमैला व्यवस्थापन परियोजना गुम्ने खतरा

कञ्चनपुरको भीमदत्तमा तीन अर्बको फोहरमैला व्यवस्थापन परियोजना गुम्ने खतरा

कञ्चनपुर । कञ्चनपुरको  भीमदत्त नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गर्न नसकेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने परियोजना अन्योल भएको छ ।  केन्द्रका लगि खोजिएको जग्गामा स्थानीय बासिन्दाले अवरोध गरेपछि नगरपलिकाले जग्गाको टुंगो लगाउन नसकेको हो ।

एसियाली विकास बैंकको तीन अर्ब ऋण सहयोग अन्र्तगतको यो परियोजनामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणलाई पहिलो शर्तका रुपमा राखिएको छ। केन्द्र निर्माणसँगै नगर क्षेत्रमा ३६ किलोमिटर ढलसहितको पक्की सडक निर्माणका योजना छन्।

बैंकको सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास योजनाअन्र्तगत ६० करोड रुपैयाँमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको योजना अघि सारिएको थियो। फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नगरपालिकाले सबै पार्टीका जिल्ला, नगर र वडासम्मका नेताहरुसित छलफल गरिसकेको छ।

नगरपालिका कार्यालयमा पटक पटक सर्वदलीय र सर्वपक्षीय छलफल गरिएका छन् । नगर प्रमुख सुरेन्द्र विष्टले सर्वदलीय र सर्वपक्षीय छलफलमा गरिएका सहमति विपरीत स्थानीय स्तरमा अवरोध हुँदा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन समस्या देखिएको बताए। फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नगरपालिकालाई २० बिघा जग्गा आवश्यक पर्छ।

तर, उक्त क्षेत्रफलको जग्गा प्राप्त नहुँदा समस्या भएको नगर प्रमुख विष्टले बताए । क्षेत्रीय शहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरण अन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अघि बढेको हो ।