दल रोज्ने आज अन्तिम दिनः प्रदेशमा माधव नेपालसँग २२ प्रतिशत सांसद

दल रोज्ने आज अन्तिम दिनः प्रदेशमा माधव नेपालसँग २२ प्रतिशत सांसद

निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज (मंगलबार) सकिँदैछ । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर बनेको (लोकतान्त्रिक समाजवादी) पार्टी दर्ता भएपछि आयोगले आजसम्म दल रोज्ने मिति तोकेको थियो ।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगेमा दल विभाजन गर्न सकिने अध्यादेशमा स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई २१ दिनसम्म दल रोज्न पाउने व्यवस्था थियो । (एकीकृत समाजवादी) र (लोकतान्त्रिक समाजवादी पार्टी) ले आयोगमा भदौ २ गते दर्ताको दल निवेदन दिएका थिए । सोही अनुसार आयोगले दर्ताको निवेदन आएको मितिदेखिको समय छुट्याएको थियो ।

संघीय सांसदको हकमा भने पार्टी विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिँदा नै एकै पटक सांसदको नामावली र हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था गरिएको थियो । आयोगका अनुसार आजसम्ममा प्रदेश र स्थानीय तहका जनप्रनिधिले पुरानो दलबाट विभाजित भएर बनेको दल नरोजे पछि रोज्न चाहेमा दल त्याग गरेको ठहरिने छ । उक्त दलले कारबाही गर्न सक्नेछ ।

प्रदेशमा माधव नेपालसँग २२ प्रतिशत सांसद, पाँच प्रदेशमा बलियो
नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी लुम्बिनी र गण्डकी प्रदेशमा निकै कमजोर देखिएको छ । गण्डकीमा एक जना पनि प्रदेश सांसद समाजवादीमा गएनन् । लुम्बिनीमा जम्मा एक जनाले सनाखत गरेका छन् । बाँकी पाँच वटा प्रदेशमा भने नयाँ पार्टीको अवस्था बलियो देखिएको छ । पाँचै प्रदेशमा गरेर सोमबार बेलुकासम्म ५१ जना प्रदेश सांसद एकीकृत समाजवादी पार्टीमा खुलेका छन् । सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बन्दा एकीकृत समाजवादी प्रदेश २ मा एमालेभन्दा ठूलो दल बनेको छ ।

सातै प्रदेशमा गरेर एमालेले २ सय ३२ प्रदेश सभा सदस्य जितेको थियो । एमालेबाट प्रदेश–१ बाट ५१, प्रदेश–२ मा २१, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा २७, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २५ सांसद थिए । तर, एमालेका २२ प्रतिशत प्रदेश सांसद तान्न अध्यक्ष नेपाल सफल भएका छन् । निर्वाचन आयोगले नयाँ दलमा सनाखतका लागि २२ गतेसम्मको समय दिएको छ । अध्यादेश ल्याएको २१ दिनभित्र दल परिवर्तन गरे प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद नजाने आयोगको निर्णय छ । जसअनुसार आज (मंगलबार) एक दिनको समय बाँकी छ । सरकारले भदौ १ गते राजनीतिक दल विभाजनको व्यवस्था खुकुलो पार्दै अध्यादेश ल्याएको थियो ।

एकीकृत समाजवादीमा खुल्ने प्रदेशका सांसदहरुको संख्या यकिन भए पनि स्थानीय तहको पूर्ण विवरण आइसकेको छैन । स्थानीय तहमा पनि मेयर, प्रमुख भन्दा बढी वडाअध्यक्ष, वडासदस्य एकीकृत समाजवादी पार्टीमा खुलेका छन् । बागमती प्रदेशका १३ सांसद नयाँ पार्टीमा खुलेका छन् । थप दुई जना आउने दाबी एकीकृत समाजवादीका नेताहरुको छ । काभ्रे, ललितपुर, धादिङ, मकवानपुर, चितवन, दोलखा लगायतका जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले समाजवादी पार्टीमा सनाखत गरेको भए पनि संख्या स्पष्ट छैन । काभ्रेबाट ६० जनाले सनाखत गरेका छन् ।

सो पार्टीका प्रदेश सांसद लक्ष्मण लम्सालले आफूहरुलाई थप स्थानीय तहका जनप्रतिनिधिको समर्थन रहेको तर पदावधि ६ महिना मात्र रहेकाले तिनले सनाखत नगरेको दाबी गरे ।