६० रुपैयाँ ऋण तिर्न नसक्दा हलि बसे !

६० रुपैयाँ ऋण तिर्न नसक्दा हलि बसे !

दार्चुला । मालिकार्जुन गाउँपालिका–६ उकु भोल्यानीका दलिराम लोहारले १८ वर्षको उमेरदेखि हलो जोत्न सुरु गरे । साहुबाट लिएको ६० रुपैयाँ ऋण तिर्न नसक्दा उनले ६ वर्ष साहुको खेतबारीमा हलो जोति रहे । साँवा बाँकी रहने तथा ब्याँज बापत हलो जोत्नुपर्ने शर्त थियो ।

बुबा करबिर लोहारको पालादेखि नै उनी हलो जोत्थे । हलो जोत्नु उनीहरुको मजबुरी र नियती थियो । दलिराम मुक्त हलिया हुन् । उनी खलंगाका भूमिपतिको घरमा हलिया बसेका थिए । पछि उनी यहाँबाट बसाइ सरी उकुँ गए । सरकारले उनलाई हलियामुक्ति घोषणा ग¥यो ।

उनलाई सरकारले घर र जग्गा दियो । तर, अहिले उनीसँग न जग्गा छ, न बस्ने घर । २०७३ सालमा बाढी आउदा उनको घर भत्किएको छ भने जमिन चिराचिरा परेको छ । त्यो घरमा बस्न लायक नै छैन् । अहिले उनी आफन्तकोमा बसिरहेका छन् । उनको ९ जनाको परिवार छ ।

अब त दलिराम ६५ वर्षका भए । काम गर्ने जाँगर पनि छैन्, पौरख पनि । ‘छाक टार्नकै लागि मुक्त हलिया घोषणा भएर पनि हलियाकै रुपमा काम गर्नु पर्ने बाध्यता छ ।’ उनले भने, उनको अब सरकारसँग गाँस, बाँस र कपासको माग छ । दलिराम मात्रै होइन, उनीजस्तै अन्य सयौँ यस्तै समस्या झेल्दै आएका छन् ।

महाकाली नगरपालिका– ५ गल्फै बस्ने मानमति ओडको पनि पीडा र समस्या उही छ । उनी पनि ७ सय ऋण तिर्न ५० वर्ष साहुको हलि बसेको बताउछिन् । उनीसँग त एउटा वियोगान्त पीडा बूढा बितेको छ । सँगै साहुको खेतमा काम गरिरहेका बेला बूढा अन्तराम ओड बितेको उनका आँखामा ताजै छ । जमिनका लागि भनेर ५० वर्ष हलि बस्दा पनि जमिन नपाएको उनी बताउछिन् ।

सरकारले १ लाख रुपैयाँ दिएपनि त्यसले मुक्ति हुन नसकेको उनको भनाइ छ । सडक छेउमा गिट्टी कुटेर घर खर्च चलाउदै आएकी उनी अहिले पनि हलियामुक्तिका लागि आन्दोलन गरिरहेकी छिन् । हलिया मुक्तिका लागि आन्दोलन गर्ने पहिला व्यक्ति दानीराम तिरुवा हुन् ।

उनले करिब १९ हजार हलियामुक्ति गर्न संघर्ष गरे । दानीराम साविकको उकु गाविस (हालको मालिकार्जुन–६ ) का मुक्त हलिया हुन् । उनले १२ वर्षको उमेरदेखि हलो जोतेका थिए । उनले एउटै मालिकको घरमा १७ वर्ष गरेर लगातार ३६ वर्ष हलो जोते ।

पछि ०५९ सालमा दार्चुलाको उकु गाविसमा दलित अभिमुखीकरण गोष्ठी गरिरहदा दानीरामले आफू पुस्तौँदेखि हलिया बसेर काम गरिरहेको बताएपछि हलियाको मुद्धाले चर्चा पायो र त्यहीबाट हलियाको सवाल बाहिर आयो । उनले २०६२ सालमा द्धन्द्धको समयमा आफूले जोतेको हलो सरकारलाई बुझाउने आँट समेत गरे । तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष कीर्तिनिधि विष्टलाई हलो बुझाउने भन्दै दानीरामको नेतृत्वमा ८० जना हलियाहरुको टोली काठमाडौँ गएको थियो ।

दानीरामले आफूहरुले हलो बुझाउन सफल भएको बताए । अहिले पनि दानीरामको हलियामुक्ति आन्दोलन र संघर्ष सेलाएको छैन् । हलियामुक्तिका १३ वर्ष बितेपनि अझै सुदूरपश्चिममा हलिया व्यवस्थित हुन सकेका छैन् । पुस्ताँैसम्म ब्याँज बापत हलो जोत्दै आएका हलियाहरुको पीडा र मजबुरी उही छ ।

दार्चुलाका ४ सय ५४ जनाले परिचय पत्र पाएका छन् भने हजारौ अझै परिचयपत्रविहीन र घरबारविहीन छन् । जिल्लाभरिका ४ हजार २ सय ५६ जना हलिया अझै व्यवस्थित हुन नसकेको जिल्ला हलियामुक्ति समाजका अध्यक्ष दानीराम तिरुवाले जानकारी दिए ।