पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाल २ विकेटले विजयी

पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाल २ विकेटले विजयी

नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको पहिलो अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा जित हात पारेको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।

पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।नेपालको जितका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेका थिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।

पीएनजीका लागि सिआकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए । किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट भए ।

कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा र नोसिना पोकाना १र१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किए । चाड सोपेर १७ रनमा अविजित रहे ।

सन्दीप एक्लैले लिए ४ विकेट

नेपालको जितका लागि सन्दीको बलिङ पनि उत्कृष्ट रह्यो उनले  ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।

डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिए । बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिएका हुन् । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।

यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो ।

नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।