यो हो संसारको सबैभन्दा सुन्दर लामखुट्टे

यो हो संसारको सबैभन्दा सुन्दर लामखुट्टे

लामखुट्टेबारे जानकारी दिनुपर्दा धेरै शब्द प्रयोग गर्न सकिएला तर यसको वर्णन गर्दा कसैले पनि ‘सुन्दर’ शब्द प्रयोग गर्लान् जस्तो लाग्दैन । यद्यपि, त्यस्ता केही अपवाद पनि हुन्छन् जहाँ लामखुट्टेलाई सुन्दर भन्न सकिन्छ । साबेथेस क्यानियस लामखुट्टेको यस्तो प्रजाति हो जसलाई ‘आई क्याचिङ’ भन्न मिल्छ ।

मध्य र दक्षिण अमेरिकाको ट्रपिकल फरेस्टमा पाइने  साबेथेस लामखुट्टेको एउटा यस्तो प्रजाति हो जुन निलो रङ र प्वाङजस्तो पेडलका लागि परिचित छ । यो लामखुट्टेको प्रजाति असाध्यै चञ्चल हुने र यसको फोटो खिच्न पनि असाध्यै गाह्रो हुने बताइन्छ ।

‘यो लामखुट्टेले सानोभन्दा सानो आवाज र प्रकाशमा पनि प्रतिक्रिया दिन्छ,’ वाइल्डलाइफ फोटोग्राफर गिल वाइजेनले बीबीसीलाई भने ।

‘यसको अर्थ तपाईं यसको फोटो खिच्दै हुनुहुन्छ भने नचलिकन बस्नुपर्छ र फ्ल्याश प्रयोग गरेको खण्डमा लामखुट्टे भाग्छ भनेर पनि बुझ्नुपर्छ । तर भाग्यवश, तपाईंको अगाडि एउटै मात्र लामखुट्टे भने हुँदैन किनभने तपाईंको टाउको माथि दर्जनौं लामखुट्टे घुमिरहेका हुन्छन् ।’

साबेथेस लामखुट्टेको सबैभन्दा मुख्य आकर्षण भनेको यसको बीचको खुट्टा हो । तर यसको काम के हो भनेर वैज्ञानिकले अझै पत्ता लगाउने कोसिस गरिरहेका छन् ।

संसारभरीका ३,३०० प्रजातिका लामखुट्टेमध्ये पोथी लामखुट्टेले मात्रै रगत चुस्छ । त्यो पनि अण्डा उत्पादनका बेला मात्रै । त्यसबाहेकको समयमा उसले फूल इत्यादिबाट आफ्नो आवश्यकता पूरा गर्छ । जब उसले केही खान खोज्छ तब बीचको खुट्टा अगाडि सर्छ । उक्त खुट्टा निकै संवेदनशील भएका कारण थोरै हलचल हुने बित्तिकै उडिहाल्छ ।

यो यति सुन्दर भएपनि आखिर लामखुट्टे न हो, यसले डेंगुजस्ता विभिन्न रोग निम्त्याउने गर्छ ।