जङ्गली हात्तीले कञ्चनपुरको भीमदत्त नगरपालिमा धान बाली नष्ट

जङ्गली हात्तीले कञ्चनपुरको भीमदत्त नगरपालिमा धान बाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको बथानले भीमदत्त नगरपालिका –१३ पिपरैया क्षेत्रमा पाक्दै गरेको धान बाली नष्ट गरेको छ । 

निकुञ्जबाट गए राती गाउँ पसेको जङ्गली हात्तीको समूहले पिपरैयाको वैजनाथ टोलमा करिब दुई बिगाहामा लगाएको धान बाली नष्ट गरेको हो । 

पाक्दै गरेको धान बाली जङ्गली हात्तीले खाएर र कुल्चेर नष्ट गरेपछि किसानहरू चिन्तित भएको वैजनाथ टोल विकास संस्थाका अध्यक्ष महेश भट्टले बताउनुभयो । 

उहाँले निकुञ्ज प्रशासन र मध्यवर्ती समितिले टुटेका तारजाली र विद्युतीय तार समयमा मर्मत नगर्दा जङ्गली हात्ती फेरी मानव बस्तीमा पस्न थालेको बताउनुभयो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले कार्यालयले जङ्गली वन्यजन्तुबाट मध्यवर्ती क्षेत्रका जनताको धनजनको सुरक्षाका लागि तारजाली र विद्युतीय तार जडान गरे पनि विभिन्न ठाउँ ठाउँमा टुटेको र भाँचिएको कारण जङ्गली हात्ती फेरी गाउँमा पस्न थालेको बताउनुभयो ।  उहाँले छिट्टै विद्युतीय तार र अन्य तारजाली मर्मत गरिने जानकारी दिनुभयो ।

उहाँले जङ्गली हात्तीले क्षति गरेको धान बालीको विवरण लिन काम भइरहेकाले त्यसपश्चात् क्षतिको यकिन गरी आवश्यक राहत दिइने समेत बताउनुभयो ।