कांग्रेसी साथिहरुमाथि गरिएको अनुशासनको कारवाही फिर्ता लिनुपर्छ: बिमलेन्द्र निधि

कांग्रेसी साथिहरुमाथि गरिएको अनुशासनको कारवाही फिर्ता लिनुपर्छ: बिमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले अनुशासनको कारवाहीमा परेका गोविन्दराज जोशी र पुस्कर ओझासहितका नेता कार्यकर्ताको कारवाही फिर्ता लिन माग गरेका छन् । निधिले सभापति देउवालाई पत्र लेख्दै कारवाही फिर्ता प्रयोजनका लागि केन्द्रीय समितिको बैठक डाक्न पनि आग्रह गरेका छन् ।
 
“नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी र कार्यान्वयन हामीले प्रारम्भ गरिसकेका छौं । यो महाधिवेशनलाई देशमा आसन्न तीनवटै तहका राष्ट्रिय निर्वाचनसँग जोडेर तयारी गर्ने पर्ने हुन्छ,” निधिले पत्रमा भनेका छन्, “रुख चिह्नलाई जिताउन पार्टीसँग जनता र मतदातालाई जोड्दै जानुपर्छ ।” उनले त्यसका लागि युवा पुस्ता जोड्ने र पुराना नेताहरुलाई समेट्ने काम एकसाथ अघि बढाउनुपर्ने भन्दै अनुशासनका नाममा कसैलाई तह लगाउने काम उचित नहुने बताएका छन् ।  

“यस सन्दर्भमा, तनहुका गोविन्दराज जोशी, कैलालीका पुष्कर ओझालगायत देशभरिका कांग्रेसी साथिहरुमाथि गरिएको अनुशासनको कारवाही फिर्ता लिनुपर्छ,” निधिले भनेका छन्, “अनुशासित बनाउनुु र तह लगाउनुु दुईवटा अलग–अलग विषय र आशय हो । १४ औं महाधिवेशनको अवसरमा सहभागी हुने गरी सबै नेता र सदस्य साथीहरुमाथि गरिएको अनुशासनको कारवाही फिर्ता लिनु दुरदर्शी, विवेकसम्मत र बुद्धिमानी हुने भएकाले तदनुकुलको आवश्यक निर्णयका लागि तत्काल केन्द्रीय समितिको बैठक बोलाउन अनुरोध गर्दछु ।”