एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाण्डौमा आइपुग्यो

एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाण्डौमा आइपुग्यो

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुग्नुभएको छ । उहाँहरु कतार एयरवेजमार्फत बिहीबार बिहान ९ बजेर २५ बजे काठमाण्डौ आइपुग्नुभएको  नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

उहाँहरु आइपुग्ने बेला विमानस्थल सहित काठमाण्डौको सुरक्षा अवस्था कडा पारिएको थियो । उपाध्यक्ष सुमारको टोलीले एमसीसी सम्झौताका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ । 

एमसीसीलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो । एमसीसीले हिजो नेपालले पठाएको प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको र सम्झौतामा अहिले आएर संशोधन गर्न नसकिने समेत बताएको छ । एमसीसी संसदबाट सकारात्मक रूपमा अनुमोदन गर्नका लागि नेपाली नागरिकसँग खुला र पारदर्शी रूपमा संवाद गर्न तयार रहेको उपाध्यक्ष सुमारले बताउनुभएको छ । उहाँले अघिल्लो पटक आफू नेपाल आउँदा हरेक दलका नेताले सकारात्मक प्रतिक्रिया दिए पनि पछिल्लो समय भ्रामक बनाएको भन्दै  चिन्ता व्यक्त गर्नुभएको छ । 

नेपालमा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न पाँच सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ५५ अर्ब रुपैयाँ अनुदान पाउने गरी नेपाल सरकार र अमेरिकी एमसीसीबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो । संसद्बाट सम्झौता अनुमोदन भएपछि मात्रै कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । तर, दलहरूबीच सहमति हुन नसक्दा सम्झौता अनुमोदनको लागि संसदमा प्रक्रिया अघि बढ्न सकेको छैन ।

चार वर्ष पुग्नै लाग्दा पनि एमसीसीसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु संसद अधिवेशनबाट एमसीसी पारित गर्ने तयारी गरे पनि गठबन्धन दलहरुभित्रै यसबारे विवाद छ ।