अफगानिस्तानमा चरम खाद्य सङ्कट आउने यूएनकाे चेतावनी, चीनद्वारा सहयाेग घाेषणा

अफगानिस्तानमा चरम खाद्य सङ्कट आउने यूएनकाे चेतावनी, चीनद्वारा सहयाेग घाेषणा

चीनले अफगानिस्तानलाई सहयोगको घोषणा गरेको छ । तालिबानले युद्धमार्फत सत्ता नियन्त्रणमा लिएर सरकार घोषणा गरेको भोलिपल्ट चीनले मानवीय सहायता र कोरोना भाइरसविरुद्धको सहयोग घोषणा गरेको हो । 

पाकिस्तानले आयोजना गरेको अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीचको भर्चुअल छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नलगायतको सहयोग घोषणा गर्नुभएको ग्लोबल टाइम्सले जनाएको छ । 

यस्तै चीनले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्धको खोप १० लाख मात्रासहित अरू स्वास्थ्य सामग्री पनि सहयोग गर्ने बताएको छ । गएको अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता के हुने हो भन्ने अन्योल छ ।

अमेरिकालगायत पश्चिमा देशहरूले तालिबान सरकारलाई सहायता गर्न उसले महिला अधिकार र प्रजातान्त्रिक मूल्य, मान्यतालाई पछ्याउनुपर्ने र अफगान भूमिलाई आतङ्कवादी समूहको आश्रयस्थल बनाउन नहुने सर्त राखेका छन् ।

संयुक्त राष्ट्र सङ्घ (यूएन) ले अफगानिस्तानमा छिट्टै खाद्यान्न सङ्कट हुने चेतावनी दिएको छ । अहिले पनि अफगानिस्तानका आधाभन्दा धेरै बालबालिका छाक टार्नकै लागि सङ्घर्ष गरिरहेका राष्ट्र सङ्घले जनाएको छ ।

तालिबानले सत्ता नियन्त्रणमा लिएपछि अफगानिस्तानमा खाद्यवस्तुको मूल्य ५० प्रतिशतभन्दा धेरै बढेको बीबीसीले जनाएको छ ।