एमसिसी प्रतिनिधिले एमाले अध्यक्ष ओलीसँग पहिलो भेट गर्ने

एमसिसी प्रतिनिधिले एमाले अध्यक्ष ओलीसँग पहिलो भेट गर्ने

एमसिसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले आजैबाट राजनीतिक भेटघाट सुरु गर्ने भएका छन् । आज बिहानमात्रै काठमाडौं अवतरण भएका यी दुई प्रतिनिधिले पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएका हुन् ।

दिउँसो एमाले अध्यक्ष ओलीबाट राजनीतिक भेटवार्ता सुरु गर्ने र अन्य राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने बताइएको छ । बालुवाटार निकट स्रोतका अनुसार भोलि प्रधानमन्त्री शेरबहादुर देउवासँग उनीहरूको भेटवार्ता हुनेछ । 

उनीहरूले आजै याक एण्ड यतिमा रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसिए-नेपाल) को निरीक्षण गर्नेछन् । नेपालमा एमसिसी परियोजनाबारे चर्को विवाद छ । नागरिकस्तरबाटै यसका विभिन्न सर्तमाथि प्रशस्तै प्रश्न उठाइएपछि केही दिनअघि सरकारले एमसिसीलाई विभिन्न प्रश्नसहितको पत्र पठाएको थियो ।

त्यसको जवाफ एमसिसीले फर्काइसकेको छ । र, कुनै सैन्य रणनीति वा सामरिक स्वार्थ नरहेको जनाइसकेको छ ।