एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी

एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी

बुधबार काठमडौँ आइपुगेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रतिनिधिमण्डलले भेटवार्ता सुरु गरेको छ ।

एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौंमा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सुरु गरेको हो । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र एमसीसी प्रतिनिधिमण्डलबीच ओली निवास बालकोटमा वार्ता भइरहेको छ।

एमसीसी र नेपालबीच भएको ५ सय मिलियन अनुदानको सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने विषयमा काठमाडौँमा दलहरु विभाजन भइरहेका बेला एमसीसीको प्रतिनिधिमण्डल आइपुगेको हो । सत्तारुढ गठबन्धनमा पनि एमसीसीबारे समान धारणा छैन । सरकारमा रहँदा ओली एमसीसीका पक्षमा दृढ देखिए पनि विपक्षीको हैसियतमा पुगेपछि भने फरक कुरा गर्दै आएका छन् ।

यो भेटले एमसीसीबारे एमालेको पोजिसन स्पष्ट पार्ने अपेक्षा गरिएको छ । एमाले भित्र उपाध्यक्ष भीम रावललायतका नेताहरु भने एमसीसीको विपक्षमा स्पष्ट रुपमा उभिएका छन् ।