नेपाली नागरिक र सत्तारुढ दलहरूलाई बुझाएर मात्रै एमसीसी अघि बढाउनुपर्छः नेता नेपाल

नेपाली नागरिक र सत्तारुढ दलहरूलाई बुझाएर मात्रै एमसीसी अघि बढाउनुपर्छः नेता नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीचको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाउन सकिने धारणा राख्नुभएको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग आज बिहीवार सिंहदरबारमा भएको भेटमा सत्तारुढ दलहरूबीच सहमति गरेर मात्रै एमसीसी सम्झौतालाई अघि बढाउन सकिने पार्टीको अडान रहेको जानकारी गराउनुभएको हो । 

त्यस क्रममा उहाँले नेपाली नागरिकलाई बुझाएर मात्रै यो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको पनि बताउनुभयो । भेटमा फातिमाले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वास्त बनाउन खोज्नुभएको थियो ।

यता अध्यक्ष नेपालले भने एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिका सरकारबाट भएको पनि बताउनुभएको भेटमा सहभागी नेकपा (एकीकृत समाजवादी) का कार्यालय सचिव डां. गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्र हितभन्दा बाहिर गएर यो सम्झौता अघि बढ्न सक्दैन भन्ने कुरामा हामी दृढ छौँ । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमति बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौँ । राजनीतिक दलहरू जो सरकारमा सामेल छन्, ती सबै राजनीतिक दलहरूको चासोको कुरा हो । त्यसैले हामीहरू आफू पनि छलफल गरेर सहमतिमा अघि बढ्छौँ ।’

झन्डै डेढ घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसीसी दबाब दिएर पारित गराउने पक्षमा आफूहरू नरहेको पनि बताउनुभएको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।