एमसीसी उपाध्यक्षको टोलीले आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने

एमसीसी उपाध्यक्षको टोलीले आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दै छ ।

नेपालको संसदबाट सम्झौता अनुमोदन गराउन सक्रिय कसरतमा जुटेको टोलीले हिजो एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेको थियो । सबै नेताहरुसँगको छलफलमा सुमारले एमसीसी कुनै सैन्य रणनीति नभएकोले यसबारेको विवादलाई थप नलम्ब्याउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा जसरी पनि संसद्बाट एमसीसी पारित गर्ने तयारीमा हुनुहुन्छ भने सत्तारूढ गठबन्धनकै माओवादी र एकीकृत समाजवादी भने एमसीसी हुबहु पारित नगर्ने पक्षमा छन् । एमालेले सरकारको धारणा आएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।

सत्तारुढ दलहरु नै एकमत हुन नसकेका कारण एमसीसी कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री देउवा अप्ठ्यारोमा पर्नुभएको छ । २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । एमसीसी पास गर्ने/नगर्नेबारे दलहरू विभाजित छन् ।