टीकापुर । कैलालीको टीकापुरमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूलाई आजबाट खोप लगाउन शुरु गरिएको छ । नगरपालिका भित्र रहेका १ हजार ५ सय ९१ जना विद्यार्थीलाई कोरोना विरुद्धको अष्ट्राजेनिका खोप लगाइने नगरपालिकाले जनाएको छ ।
भदौ ३० गतेदेखि सञ्चालन हुन गइरहेको कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई अष्ट्राजेनिका खोपको पहिलो मात्रा लगाउन लागेको टीकापुर नगरपालिका स्वास्थ्य प्रवर्द्धन उपशाखाका संयोजक वलबहादुर रावलले जानकारी दिनुभयो । खोप लगाउनको लागि टीकापुर सिटी हल र सत्ती शहरी स्वास्थ्य केन्द्र गरी २ वटा खोप केन्द्र तोकेको छ ।
आज सिटी हलमा वीरेन्द्र विद्या मन्दिर माविका विद्यार्थीलाई र सत्ती शहरी स्वास्थ्य केन्द्रमा त्रिभुवन मावि बटनपुर र कर्णाली मावि सत्तीका विद्यार्थीलाई बिहान १० बजेदेखि खोप लगाउन शुरु गरिएको छ ।
खडग स्मृति मावि, कर्णाली मावि, हिमालय मावि, जनजागृति मावि, सगुन विद्या निकेतन, खडग मेमोरियल, सन्त निरंकारी मावि, युनाइटेड, न्यूलाइट र आर एमईका विद्यार्थीलाई भोलि सिटी हलमा खोप लगाइनेछ ।
टीकापुर नर्सिङ कलेज र प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीलाई भदौ २७ गते पर्सी खोप लगाइने कार्यक्रम रहेको उपशाखा संयोजक रावलले बताउनु भयो । खोप लगाउनु अघि स्वास्थ्य मन्त्रालयले तोके अनुसारको अनलाइन www.vaccine.mohp.gov.np मा फाराम भरी त्यसको दर्ता नम्बरसहित परीक्षाको प्रवेश पत्र, नागरिकता प्रमाणपत्र ल्याउनु पर्नेछ । १८ वर्ष मुनिका विद्यार्थीले भने खोप पाउने छैनन् ।