पहिलो डे–नाइट ओडीआई खेल्दै नेपाल, पीएनजीविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

पहिलो डे–नाइट ओडीआई खेल्दै नेपाल, पीएनजीविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । ओमान र अमेरिकासँग विश्वकप लिग २ को श्रीङ्खला खेल्न ओमानमा रहेको नेपालले त्यसैको तयारी स्वरुप पीएनजीसँग दुई वटा ओडीआई खेलेको हो ।

आज नेपालले पहिलो पटक डे–नाइट ओडीआई खेल्दैछ। खेल नेपाली समयअनुसार अहिले सवा ४ बजे खेल सुरु हुनेछ। यसअघि नेपालले ११ वटा ओडीआई दिउँसो मात्र खेलेको थियो । १२औँ ओडीआई पहिलो पटक फ्लड लाइटमा खेल्न लागेको हो ।

नेपालले यसअघि टी–२० आई मात्र फ्लड लाइटमा खेलेको थियो। सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपालले पहिलो पटक फ्लडलाइटमा खेलेको थियो । नेपालले १३ सेप्टेम्बरदेखि खेल्ने विश्वकप लिग २ श्रीङ्खलाका सबै चार खेल डे–नाइट हुनेछन्। नेपालले ओमान र अमेरिकासँग गरी जम्मा चार खेल खेल्नेछ।

यसअघि पीएनजीसँग भएको पहिलो खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो। पीएनजीले दिएको १३५ रनको लक्ष्य पूरा गर्न नेपालले आठ विकेट खर्च गरेको थियो।