काँग्रेसको बाँकी वडा अधिवेशन असोज ५ र गाउँ–नगरपालिकाको असोज ९ गते हुने

काँग्रेसको बाँकी वडा अधिवेशन असोज ५ र गाउँ–नगरपालिकाको असोज ९ गते हुने

नेपाली काँग्रेसको गाउँ–नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति पुनः सरेको छ । शुक्रबार ललितपुरस्थित बिपी स्मृति भवनमा बसेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठकले भदौ २७ गतेदेखि सुरु हुने भनिएको गाउँ–नगरपालिकास्तरीय अधिवेशन असोज ९ गते सार्ने निर्णय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

यस्तै, अधिवेशन गर्न बाँकी रहेका २० जिल्लाको हकमा गाउँ–नगर वडा अधिवेशन असोज ५ गतेसम्मको लागि सारिएको छ । काँग्रेसको पूर्वनिर्धारित कार्यतालिका अनुरुप भदौ २७ गतेदेखि नै गाउँ–नगरपालिकाको अधिवेशन सुरु हुने कार्यक्रम तय गरिएको थियो ।

यसैगरी, काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज १ गते गर्ने भनिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते सर्ने भएको छ । असोज ५ गते हुने भनिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गतेबाट असोज १८ गतेलाई सारिएको छ ।

तथापि, कात्तिक १०, ११ र १२ गते गर्ने भनिएको प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म सम्पन्न गर्ने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने संशोधन नभएको यादवले बताउनुभयो ।