नेकपा एमालेको विधान अधिवेशन सर्‍यो, असोज १५-१७ गतेसम्म गर्ने निर्णय

नेकपा एमालेको विधान अधिवेशन सर्‍यो, असोज १५-१७ गतेसम्म गर्ने निर्णय

नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टीको विधान अधिवेशन मिति संशोधन गरी असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले यसअघि असोज ४ देखि ६ गतेसम्म गर्ने भनी तोकेको विधान अधिवेशनको मिति संशोधन गर्दै असोज १५, १६ र १७ गते काठमाडौँमा गर्ने निर्णय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकले विधान अधिवेशनमा पेस हुने प्रस्तावहरूबारे छलफल गर्न असोजको ३ र ४ गते स्थायी कमिटी तथा ८ र ९ गते केन्द्रीय कमिटीको बैठक बोलाउने पनि निर्णय गरेको छ । 

यस्तै एमाले स्थायी कमिटी बैठकले प्रतिस्थापन विधेयकमार्फत शुक्रवार संसद्मा पेस भएको बजेटमा विभिन्न सडक तथा विकास निर्माणका आयोजनहरूको बजेट कटौती गरिएको भन्दै आपत्ति प्रकट गरेको छ । 

बैठकले संसद्मा विकसित पछिल्ला घटनाक्रम तथा एमालेको भूमिकाका बारेमा छलफल गर्न भोलि दिउँसो १२ः०० बजे संसदीय दलको बैठक बोलाउने समेत निर्णय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।