सुदूरका किसानले स्वदेशी उत्पादनको बजार पाएनन् : किसान आयोगका अध्यक्ष दंगाल

सुदूरका किसानले स्वदेशी उत्पादनको बजार पाएनन् : किसान आयोगका अध्यक्ष दंगाल

धनगढी । नेपाल सरकार राष्ट्रिय किसान आयोगले शनिवार धनगढीमा पत्रकारहरू सँग भेटघाट तथा छलफल गरेको छ ।

आयोगले ‘समृद्ध नेपालको शान, अधिकार सम्पन्न किसान’ भन्ने नाराको औचित्य आफ्नो काम कारबाही, सुदूरपश्चिम प्रदेशमा किसानहरूको अवस्था र स्वदेशी उत्पादन को बजार पहुँच लगायतका विषयमा रहेर सुदूरपश्चिम प्रदेशको समग्र कृषि लगायतका क्षेत्रमा कलम चलाई रहेका पत्रकारहरूसँग छलफल तथा भेटघाट गरेको हो ।

अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सुदूरपश्चिम प्रदेशका किसानले उत्पादन गरेको स्वदेशी बस्तुले बजार नपाएको र भारतीय तथा आयातित कृर्षि बस्तुले बजार पाउँदा किसान मार्कामा परेको गुनासो गरिएको छ ।

कार्यक्रममा पत्रकारहरू सँगको छलफल, सवाल-जवाफ र सुझाव पश्चात् बोल्दै नेपाल सरकार राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगालले सुदूरपश्चिम प्रदेशमा कृर्षि क्षेत्रको अवस्था जटिल रहेको बताउनुभयो ।

उहाँले भारतबाट आयातित तरकारी, फलफूल, माछा मासु जन्य पदार्थ लगायत अन्य विभिन्न खाद्यान्नहरू ले बजार पाए पनि यहाँका किसानले उत्पादित बस्तुले बजार नपाउँदा किसान अधिकार सम्पन्न हुन नसकेको जिकिर गर्नु भयो ।

अध्यक्ष डा. दंगालले सुदूरपश्चिम प्रदेशमा कृर्षि क्षेत्रको विकास हुन र गर्नको लागी नेपाल सरकारले भन्सार, क्वारेनटाइनलाई व्यवस्थित बनाउन र चुस्त दुरुस्त बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै, रासायनिक मलको सहज उपलब्धता, वास्तविक किसानका लागी अनुदान लगायतका समस्याहरू देखिएकाले यी समस्याहरूको सुझाव सङ्कलन मार्फत सरकारलाई ध्यानाकर्षण गराइने प्रतिबद्धता जाहेर गर्नुभएको छ । भने खाद्य र पोषण सुरक्षा, दिगो विकासका आधारित, आत्मनिर्भर कृर्षि, गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने, आयआर्जन गर्ने, व्यापार घाटा कम गर्ने र नेपाल सरकार राष्ट्रिय किसान आयोगले किसानहरूको हक अधिकार सुनिश्चित गर्ने नीति लक्ष्य रहेको स्पष्ट पार्नु भएको छ ।