शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न पाँच ठाउँमा थप मचान(वाच टावर) निर्माण गरिएका छन् । नेपाल–भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो ।

चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताए । “निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन मचान निर्माण गरेका छौँ”, चौधरीले भने, “निकुञ्जको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकले अवैधरुपमा छिरेर वन्यजन्तु, चरा, माछालगायतको चोरी शिकारी गर्ने कार्यलाई नियन्त्रण गर्न मद्दत पुग्दछ ।”

झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी शिकारीमाथि निगरानी राख्न गाह्रो हुने भएकाले मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने उनको भनाइ छ । निकुञ्जको नेपाल–भारत सीमा क्षेत्र नजिकै गत वर्ष पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो ।

त्यसपछि निकुञ्ज कार्यालयले पैदल र हात्तीमा गस्तीलाई निरन्तररुपमा अगाडी बढाउँदै आएको छ । निकुञ्जको सुरक्षार्थ नेपाली सेनाका १६ पोष्ट निर्माण गरिएका छन् । निकुञ्ज कार्यालयका १५ पोष्ट रहेका छन् । नेपाली सेना र निकुञ्जका पोष्टबाट दैनिकरुपमा वन्यजन्तु र काठ तस्करी रोक्न गस्ती गरिने गरिएको छ ।