आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्नु हुँदैनः एमसीसी उपाध्यक्ष फातिमा

आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्नु हुँदैनः एमसीसी उपाध्यक्ष फातिमा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्न नहुने बताएकी छन् ।

आफ्नो चार दिने भ्रमणको अन्तिम दिन आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसीसी सम्झौतालाई नेपालमा राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि जनाइन् । ‘अहिले एमसीसीलाई राजनीतिकरण गर्ने अनि गलत र भ्रामक प्रचार गर्ने काम भइरहेको छ । आर्थिक सहयोगको विषय कहिले पनि राजनीतिक हतियार हुन सक्दैन किनभने यो मानिसको जीवनसँग सम्बन्धित विषय हो’ उनले भनिन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित हुन नसकेको बेला गत बिहीबार नेपाल आएकी उनले राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, नागरिक समाजका प्रतिनिधि र निजी क्षेत्रसँग एमसीसी सम्झौताको विषयमा कुराकानी गरेकी छन् ।

दलका नेताहरुसँगको भेटमा आफूले एमसीसी अनुमोदन गर्न अहिले नै ढिलो भइसकेकाले अब ढिलो गर्न नहुने बताएको जानकारी दिइन् । यद्यपि अनुमोदनका लागि आफूहरुले कुनै निश्चित समयसीमा भने नतोकेको उनको भनाइ छ । ‘सम्झौता सन् २०१७ मा नै भएकाले त्यसको दुई वर्षभित्र अनुमोदन भइसक्नुपर्ने थियो तर हामी अहिले नै ढिलो भइसकेका छौं’ उनले भनिन्, ‘मैले नेताहरुलाई प्रश्न गरेँ, के हामी अझै ढिलो गर्नसक्ने अवस्थामा छौं ? हामीले कुनै समयसीमा तोकेर दबाब दिएका छैनौं तर अनुमोदनको विषय कति जरुरी भइसकेको छ भन्ने बताएका छौं ।’

उपाध्यक्ष फातिमाले संसदबाट तत्काल अनुमोदन गर्नुपर्नेमा जोड दिँदै नेपालले यो आर्थिक अवसरलाई उपयोग गर्नुपर्ने बताइन् । एमसीसीका सम्बन्धमा गलत र भ्रामक हल्ला फैलाइएको भन्दै उनले असन्तुष्टी व्यक्त गरिन् । र यो हल्ला कसले र किन फैलाइरहेको छ भनी सोध्ने अधिकार नेपाली जनताको भएको बताइन् । गलत र भ्रामक हल्लाले जनतालाई यथार्थ सूचनामा आधारित भएर आफ्नो छनौट गर्ने अधिकारबाट विमुख गरेको उपाध्यक्ष फातिमाको भनाइ छ ।

आफ्नो नेपाल भ्रमणको एउटा उद्देश्य एमसीसीका सम्बन्धमा नेपालमा उठेका प्रश्नहरुलाई स्पष्ट पार्नु रहेको बताउँदै उनले नेताहरुलाई पनि ती विषयमा स्पष्ट पार्ने प्रयास गरेको बताइन् । उनले भनिन्, ‘पहिलो त नेपाल सरकारले सोधेका प्रश्नहरुको जवाफ हामीले नेपाल सरकारलाई लिखित रुपमा दिएका छौं र त्यसको फलोअपको रुपमा मैले नेताहरुलाई भेटेर स्पष्ट पार्ने प्रयास गरेको छु ।’

एमसीसी गरिवी निवारण गरेर आर्थिक समृद्धितर्फ लैजाने परियोजना भएको उल्लेख गर्दै उपाध्यक्ष फातिमाले एमसीसी सहयोग समग्र दुईपक्षीय सम्बन्ध र साझेदारीको एक पाटो मात्र भएको उल्लेख गरिन् ।

‘नेपालसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व महसुस भइरहेको छ । नेपाल र अमेरिकाबीचको साझेदारी एक दीर्घकालीन र स्थायी साझेदारी हो । यो ७० वर्ष लामो साझेदारी हो जुन साझा मूल्य र मान्यतामा आधारित छ,’ उनले भनिन्, ‘प्रजातन्त्र, मानव अधिकार, इज्जत र आर्थिक अवसरहरु हाम्रा साझा मूल्य मान्यता हुन् । एमसीसी हाम्रो समग्र सम्बन्धको एक पाटो मात्र हो ।’

उपाध्यक्ष फातिमाले एमसीसी परियोजनामा सहभागी गराउन नेपालले नै अमेरिकालाई आग्रह गरेको पनि बताइन् । ‘विगत एक दशकमा हरेक सरकारले हामीलाई आग्रह गरे र यो प्रक्रियामा उनीहरु सहभागी छन्’ उनले भनिन्,‘यो कुनै प्राजेक्ट होइन, यो एउटा सम्झौता हो र दुवै सरकारले कानुनी रुपमा नै पालन गर्नुपर्ने सम्झौता हो ।’

नेपालको कानुन र संविधान अनुकुल बनाउन अनुमोदनको कुरा आएको तर्क गदै उनले संसदबाट अनुमोदन नभएसम्म कार्यान्वयन हुन नसक्ने बताइन् । उपाध्यक्ष फातिमाले एमसीसी अमेरिकी जनताको तर्फबाट नेपाली जनताई उपहार भएको बताइन् ।

फातिमाको भ्रमणको मुख्य उद्देश्य एमसीसीका सम्बन्धमा नेपालका राजनीतिक दलहरुले शीघ्र निर्णय गरुन् भन्ने थियो । चार दिने नेपाल बसाइको क्रममा उनले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरेकी छन् । तर, एमसीसीका सम्बन्धमा नेपालको राजनीतिक नेतृत्वले गरेको आशंका कायम नै छ ।

एमसीसी अनुमोदन हुनेमा आफू आशावादी रहेको बताउँदै उनले छलफलबाट उत्साहित भएको समेत उल्लेख गरिन् । उनले भनिन्, ‘म आशावादी छु किनभने नेपालका नेताहरु एमसीसीले के प्रतिनिधित्व गर्छ र यसले प्रदान गर्ने आर्थिक अवसरको बारेमा जानकार छन् ।’

एमसीसी अनुमोदन नभएमा त्यसले दुईपक्षीय सम्बन्धमा कुनै असर गर्छ कि भनी सोधिएको प्रश्नमा उनले एमसीसी समग्र दुईपक्षीय सम्बन्धको एक पाटो मात्र भएको बताइन् । उनले भनिन्, ‘सन् १९४७ देखि अहिलेसम्म अमेरिका नेपाली जनताको साथमा रहेको छ, भविष्यमा पनि रहिरहने छ । अमेरिकी जनताको तर्फबाट एमसीसी एउटा अफर हो ।’